Headlines News :

Latest Post

Showing posts with label lekh. Show all posts
Showing posts with label lekh. Show all posts

यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ?

Written By Pikford Junior on Friday, March 22, 2013 | 2:40 AM

सदाझैं बिहानै मोवाइलको घण्टी बज्यो, पुरुष कमरेडको नम्बर रहेछ । मोबाइलबाटै मैले आफ्नो कोठामा आउने निम्तो गरें । वहाँ कोठामा आएपछि हाम्रो छलफल र भलाकुसरीकै क्रममा वहाँले हैन कमरेड यसरी एक्लै बस्न भएन बिहे गर्नुपर्‍यो, अलि बुझ्ने जीवनसाथी भयो भने जीवन जिउन र आन्दोलनमा हिँड्न सहज हुन्छ र सुख दुःख पनि साट्न सकिन्छ भन्नुभयो । मैले हाँस्दै भने -तपाईले त बिहे गरेर सहयोगै पाउनुभएको छ होला हैन ? उहाँले आफु सन्तुष्ट भएको स्वीकारोक्तिस्वरुप मुन्टो हल्लाउँदै राम्रो भएको छ भन्नुभयो ।

anjanaमैले थपें- तपाई त पुरुष मान्छे, बिहे गर्नेले पनि तपाईलाई सहयोग गर्ने मानसिकताले नै बिहे गर्छ र सामाजिक स्थान पनि पुरुषहरुको माथि नै छ, श्रीमान सेवक र श्रीमती सेविकाको रुपमा । त्यसैले पार्टी र आन्दोलनमा हिँडेपछि बेलुका कोठामा र्फकंदा ठीक्क समयमा खाना, व्यवस्थित कोठा, सरसफाई आदि हरेक काममा निरन्तर सहयोग त श्रीमतीले नै गर्नुहुन्छ । तर, मैले बिहे गरंे भने यो सब मैले आफैं गर्नुपर्छ । म त उल्टो दोहोरो मारमा पो पर्छु । कमसेकम अहिले यो झन्झट त मैले व्योर्हनुृ परेको छैन । यदि साथी सहयोगी नै परिहाले पनि अहिलेको हाम्रो सामाजिक स्थानले उसलाई -श्रीमानलाई) सजिलो हुँदैन । उ त झन् कुण्ठित हुन पुग्छ । त्यसैले यो उमेरमा दुःख नव्यहोरौं कि ? मैले यसोभन्दा उहाँ एकछिन मौन बस्नुभयो ।

व्यक्तिगत जस्तो लाग्ने माथिको संवाद उल्लेख गरेर मैले नेपाली समाजभित्र श्रीमान र श्रीमति बिचको सामाजिक स्तर र एक अर्कालाई सहयोग गर्ने व्यवहारिक समस्या कोट्याउन खोजेकी मात्र हो । यसभित्र अझ दुईवटा सहयोगी उदाहरण पेश गर्न चाहन्छु, जसले अझ महिला र पुरुषवीचको समाजिक स्तर र व्यवहार कहाँ छ भने बुझ्न मद्दत पुर्‍याउँछः

२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको संविधानसभामा नेपालको इतिहासमा मात्र होइन, दक्षिण एशियामै पहिलोपल्ट ३३ प्रतिशत महिला सहभागी हुन पुगे । यो सहभागिताको मुख्य जस १० वर्षे महान जनयुद्ध ६५ वर्षे लामो क्रान्तिकारी महिला आन्दोलन, पटक-पटकका जनआन्दोलन र मधेश आन्दोलनलाई जान्छ । तात्कालीन माओवादीले ४० प्रतिशत महिला त्यतिबेला संसदमा पठाएका थिए । नेपाली महिलाहरु नीति निर्माणको थलोमा त पुगे, तर उनीहरुको सामाजिक-साँस्कृतिक रुपान्तरण भने हुन सकेन । जसको मारमा तिनै महिलाहरु परिरहेका छन् । हामीले अधिकांश महिला सभासद्को बिहानदेखि बेलुकासम्मको दिनचर्यालाई मसिनो गरी केलायौं भने पितृसतात्मक संस्कृतिभित्रको घरेलु उत्पीडनबाट सभासदहरु नै मुक्त भएको देखिँदैन ।

एउटा प्रसङ्गः हाम्रो पार्टी एकीकृत माओवादीका एकजना महिला सभासदले महिला संगठन र पार्टी कामको विषयमा छलफल गर्न निम्तो दिनुभयो । समय मिलाएर उहाँको कोठामा पुग्दा घरायसी कामकाजका कारण हामीले पर्याप्त कुरा गर्न सकेनौं । बालबच्चालाई तह लगाउँदा, भात भान्सा, चिया खाजाको व्यवस्था गर्दा नै उहाँको अधिकांश समय बित्यो । तर उहाँका श्रीमान मसँग विना एजेण्डा राजनैतिक गफ छाँटेर बसि नै राखे । बेला बेलामा उनले श्रीमतीलाई निर्देशन पनि दिँदै रहे । जवकि उनीचाँहि सभासद श्रीमतीका स्वकीय सचिव बनेका थिए । महिला कमरेड बेलाबेलामा लाचार हाँसो हाँस्दै ‘के गर्ने दिदी यस्तै छ’ भन्दै छोटो छलफलमा सहभागी हुनुभयो । यसबाट नीति निर्माण तहमा पुगेका महिलाहरु समेत घरेलु उत्पीडनको शिकार भएका छन् भन्ने प्रस्ट हुन्छ ।

कस्तो विडम्बना ! २१ औं शताब्दीमा आएर यहाँका महिलाहरुले एकातिर घर परिवारको दायित्व नै प्रमुख ठानेको देखियो भने अर्कोतिर पुरुषहरुको असहयोगी व्यवहार र घरेलु कामकाज श्रीमतीले नै गर्नुपर्ने पुरातन मानसिकता जवर्जस्त देखियो । त्यसैले त धेरै वर्ष पहिले समाजवादी नेतृ क्रुप्सकायाले “हामी महिलाहरु कसैकी श्रीमती, आमा, छोरी वा दिदी बहिनी हौंला तर हामी राजनैतिक कार्यकर्ता पनि हौं” भनेर प्रशिक्षण दिन बाध्य हुनुभएको थियो ।

अब अर्को उदाहरण । हाम्रो आन्दोलनभित्र लामै इतिहास बोकेका एक माओवादी जोडी छ । उनीहरु हाम्रो आन्दोलनभित्र सफल जोडी मानिन्छन् । हामी कहिलेकाँही ती महिला कमरेडको घरमा हुने छलफल/बैठकमा सहभागी हुँदा उनका श्रीमानले हामीलाई चिया नास्ता, खानालगायतका काममा आफै सहभागी भएर स्वागत गर्छन् र भन्छन्- आज महिला कमरेडहरुको छलफलमा सहयोग गर्ने सौभाग्य मिलेछ ।’ त्यस्तो भावना देख्दा मेरो हृदय नै आनन्दित भएर आउँछ । तर पार्टीभित्र सचेत भनिने पुरुषहरुले ती पुरुषकी श्रीमतीलाई घरमा शासन गर्ने, श्रीमानलाई अपमान गर्ने, सकसमा राख्ने जस्ता आरोपहरु लगाउने गर्दछन् । उनलाई श्रीमतीका सामु विरोध गर्न नसक्ने (गाउँका सासुले आफ्नो छोरालाई श्रीमतीको फरियामा लुक्ने) भनेजस्तो भाव प्रकट गर्छन् । जानी नजानी त्यो गलत आलोचना र प्रचारमा परेर महिलाहरु पनि श्रीमानलाई कँज्जाउने महिलाको रुपमा उनलाई आलोचना गर्न पुग्छन् । यहाँ प्रश्न उठ्छ, पुरुषले त विरोध गरे, तर महिलाले पनि किन त्यही महिला विरोधीहरुलाई साथ दिन पुगे ? यसको पनि बैज्ञानिक वस्तुगत कारण छ । उत्पीडित वर्ग, समूदाय र उत्पीडक वर्ग समुदायवीचको मनोविज्ञानलाई हेर्दा उत्पीडित वर्ग समूदायमा एउटा आत्मकेन्दि्रत व्यक्तिवादले जन्माएको ईष्र्याभाव हुन्छ, त्यो ईष्र्याभावले उत्पीडकहरुको संस्कृतिलाई पछ्याउन खोज्छ । यसलेगर्दा पितृसत्तात्मक संरचना विरुद्धको संस्कृति उनीहरुले पचाउन सक्दैनन् । त्यसैले महिलाहरु स्वतन्त्र र अधिकार सम्पन्न भएको पनि देख्न सक्दैनन् । त्यो मनोवृत्तिको समानता र स्वतन्त्रता दिन खोज्ने पुरुषप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुँदैन । आम नेपाली समाजमा पुरातन सासनका रुपमा व्याप्त छ । यसैलाई ढाल बनाएर कतिपय सचेत भनिएका, त कतिपय असचेत पुरातनवादी पुरुषहरु महिला अधिकारका विरोधी महिलाहरु नै हुन् भनेर पन्छन खोज्छन् ।

२१ औं शताब्दीमा हामी सचेत महिलाहरु यो भम्रमा पर्दैनौं । किनकि घेरै वर्ष पहिले वर्गसंघर्षको व्याख्या गर्ने क्रममा दार्शनिकहरुले “दास मनोवृत्ति दास मालिकमा भन्दा दासमा बढी हुन्छ” भनिसकेका छन् । यो विश्लेषण महिलाहरुको हकमा पनि लागु हुन्छ ।

१० वर्षे महान् जनयुद्धमा महिला सहभागिताको प्रश्नलाई लिएर क्रान्तिकारी र गैरक्रान्तिकारी वृत्तमा अहिले पनि सकारात्मक कोणबाट चर्चा चल्ने गर्छ । जनमुक्ति सेनामा ४० प्रतिशत महिला सहभागिता, पार्टी संगठनमा उल्लेख्य संख्यामा महिलाहरुको प्रवेश र विकास कसरी संभव भयो ? भन्ने विषय चर्चायोग्य छ । १० वर्षे महान् जनयुद्ध मालेमावादी दर्शन र राजनीतिबाट प्रेरित विशिष्ट फौजी अभियान थियो । त्यो अभियान विश्वलाई रुपान्तरण गर्दै नौलो जनवाद हुँदै समाजवाद निर्माण गरी साम्यवादी समाजको परिकल्पनासम्म लक्षित थियो । यो नितान्त स्थिर र निरन्तरताको राजनीतिक आन्दोलन थिएन । पुरानो सामाजिक, आर्थिक एवम सांस्कृतिक संरचनालाई जरैबाट उखाल्यो र नयाँ संरचना स्थापित गर्ने रुपान्तरणकारी युद्ध थियो । माओवादी जनयुद्धमा होमिएपछि निजी परिवार, सम्पत्ति, पुरानो धर्म संस्कृति र संस्कारहरुले त्यहाँ ठाउँ पाउँदैन थिए । वैचारिक एवम् सचेत नेतृत्वको अगुवाइमा सामन्तवादी तथा पितृसत्तात्मक संस्कार संस्कृतिबिरुद्ध धावा बोलिएको थियो । त्यसैले उत्पीडित महिलाहरुले विद्रोहको जोशमा महान् जनयुद्धमा होमिएर उत्पिडनको विरुद्ध वैकल्पिक मार्ग तय गरेका थिए । जनयुद्धमा छिरेपछि न त पुरानो कुहिएको संस्कार बोकेको परिवार सम्हाल्नु पर्ने, न त वाध्यतामा कसैको यौन दासी वा घरेलु दासी बन्नु पर्ने, न त आफनो भोक मेटाउन चार पैसामा शरीर बेच्नुपर्ने, मात्र विद्रोहकारी साहस अनि चेतनशील मस्तिष्क भए पुग्ने ।

सामुहिक बसाइँ, सामुहिक निर्णयअनुरुपको जिम्मेवारी सुख दुःखआदि सबै सामुहिकतामा थियो । महान् जनयुद्ध नेपाली महिलाहरुको पहिचान, स्वतन्त्रता र अधिकार प्राप्तिको आधारभूमि भएको थियो । माओवादी पार्टीले हजारौं संख्यामा महिला नेता कार्यकर्ता र सेना निर्माण गर्‍यो । त्यही महिला सहभागिताका कारण महान् जनयुद्धले गुणात्मक फड्को मार्‍यो । जनयुद्ध एक चरणको रणनीतिक कार्यदिशालाई सफल पार्ने तात्कालिन राजनीतिक फौजी कार्यदिशा थियो । यो निश्चित समयपछि सफल, अर्धसफल वा असफल कुनै न कुनै रुपमा टुंगिनु पर्दथ्यो । नेपालको सन्दर्भमा अलि फरक तरिकाले -पूर्ण विजय पनि होइन, हार पनि होइन) सम्झौता र सहमतिको बाटो भएर स्थगित भयो । अथवा, १२ बुँदे सम्झौताको बाटो हुँदै शान्ति प्रक्रियामा अवतरण भयो । यति बेला शान्ति प्रक्रिया स्थापना भएको सात वर्ष पुरा हुन नपाउँदै फेरी हाम्रो क्रान्तिकारी महिला आन्दोलन २० वर्ष पहिलेको समाजमा पछाडि र्फकन बाध्य भइरहेको छ ।

एकातिर महिला कार्यकर्ता पुरानो घरेलु महिलामा बाँधिनु पर्ने अर्कोतर्फ सिङ्गो पार्टीमा महिला कार्यकर्ताको विकास, रक्षा र व्यवस्थापनमा पार्टीले संस्थागत ढंगले योजना बनाउन सचेत पहल नगरेको स्थिति छ । आज पार्टीभित्र अर्काे महत्वपूर्ण र गम्भीर पाटो केही नेता र कार्यकर्ताको वर्ग उत्थान भई नेता कार्यकर्तावीच नै वर्गहरु देखा पर्न थालेका छन् । पार्टी संगठनभित्र निजी परिवार, सम्पत्ति र व्यक्तिवादी दृष्टिकोण पैदा भई आर्थिक अराजकताले इमान्दार तथा क्रान्तिकारी कमरेडहरु विशेषतः महिलाहरुलाई टिक्नै नसक्ने गरी प्रदुषित बनाइएको छ । आखिर जे भएपनि महिला कार्यकर्ताहरु पलायन भइराखेका छन् । के यसले क्रान्तिकारी आन्दोलनलाई क्षति पुर्‍याउँदैन ?

यस सन्र्दभमा क. लेनिनले भन्नु भएको रहेछ, “यदि हामीले सार्वजनिक क्रियाकलापमा -सेना र राजनीति जीवन) मा संलग्न गराउँदैनैा भने, यदि महिलाहरुलाई घर र भान्साको वातावरणबाट मुक्त गराइँदैन भने वास्तविक स्वतन्त्रता प्राप्त गर्न संभव हुन्छ ? समाजवादको त कुरा नगरे हुन्छ, केवल लोकतन्त्र निर्माण गर्न नै संभव हुदैन”

 सामुहिक बसाइ

पार्टीभित्रका केही सकारात्मक सामुहिक बसाइहरुले महिलाहरुले राजनीतिक भूमिका कतिको निर्वाह गर्न सक्छन् भन्ने कुरा प्रष्ट पारिरहेको छ । वाइसिएल, मजदुर मोर्चा र कम्युन उन्मुख सामुहिक संस्थाहरु, दिवाकर वालग्राम, आधारशिला, जुनी कम्युन, अजम्वरी कम्युन, बलिदान कम्युनजस्ता सामुहिक बसाइमा क्रियाशील महिला कमरेडहरु अहिलेको परिस्थितिमा पनि पलायन भएका छैनन् । सामुहिक बसाइमा निजी घर, महिला र पुरुष वीचको चरम उत्पिडन महसुस हुँदैन । केही असमानता र असहज त हुन्छन् तर त्यसले छलफलको विषय बन्न पाउँछ । जनयुद्धकालका सामुहिक बसाइहरु (कम्युनहरु) संस्थागत निर्णयहरुले बाध्यात्मक स्थितिमा निर्माण भएका भए पनि तिनले तिव्र सांस्कृतिक रुपान्तरण गराइराखेका थिए । आज शान्ति प्रक्रियामा आएपछि पार्टीले त्यही उपलब्धिलाई समेत रक्षा गर्न सकिरहेको देखिँदैन ।

प्रेम र यौनबारे छलफलको अभाव

नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनमा विवाह, प्रेम र यौनको बारेमा त्यति धेरै बहस, छलफल र लेखहरु प्रकाशित भएको पाइँदैन । कहिले काँही प्रगतिशील (जनवादी भनिने) विवाहमा प्रेम प्रसङ्गहरु चर्चामा ल्याउने गरिन्छ । विशेषतः माक्र्सवादी समालोचक निनु चापागाँई जनवादी विहे हुनको लागि एउटा मापदण्ड विवाहि जोडीवीच प्रेम सम्बन्ध भएको हुनुपर्दछ होइन भने त्यसलाई जनवादी विहे भन्न मिल्दैन भन्नुहुन्छ । तर एकातर्फ हाम्रो आन्दोलनमा महिला र पुरुषविच सामान्य नजिकपन भयो भने पनि संगठनभित्र हल्ला चल्ने र ती जोडीहरुलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ । अर्कोतर्फ सामन्तवादी पितृसत्ताको मानसिकता बोकेको पुरुषले महिला कमरेडलाई व्यवहार गर्दा काम बासनाको आँखाले हेर्ने व्यवहारिक जटिलता छ । हाम्रै आन्दोलनमा पनि अधिकांश पुरुषहरुको यौन नैतिकतामा कमी देखिन्छ । जसले गर्दा महिलाहरु प्रेमको नाममा धोका व्यहोरिराखेका हुन्छन् । पार्टीभित्र प्रेम र यौनलाई हेर्ने हिन्दु ब्राहृम्णवादी संस्कृतिद्वारा निर्देशित सोच पनि हावी छ । त्यसैले त पार्टीभित्रका महिला र पुरुषवीचको स्वच्छ प्रेम सम्बन्ध छ भने पनि विवाह अगाडिको सम्बन्ध भनेर अनुशासनको डण्डा चलाएका उदाहरणहरु प्नि प्रशस्तै छन् । फेरि महिला र पुरुषवीचको सम्बन्धमा महिलाले धोका व्यहोर्नु पर्‍यो भने पनि त्यसको जानकारीसँगै धोका दिने र धोका पाउने दुवैले एकैखालको कारवाही पाउने गरेका उदाहरणहरु पनि कम छैन् ।

यत्रो असुरक्षाका बीच महिला कमरेडहरुले कसरी र किन प्रेम गर्दछन् ? अलि गंभिर भएर सोचौं त ? प्रेम र यौन सम्बन्ध स्थापित गरेवापत कारवाही भोग्ने कुरा र श्रीमानले छोडेका अथवा विधवा विहे गरेवापत उपाध्याय वाहुन जैसीमा झर्ने हिन्दुवणर्ाश्रमको नियममा के अन्तर छ ? प्रेमको नाउँमा कसैले छल गर्छ र सम्बन्ध स्थापित हुन्छ भन्ने विषय अनैतिकता हो । यस्ता अनैतिक व्यवहारको विरुद्ध सचेत गराउने र सचेत हुने विषय अलग हो र, यो गर्नु पनि पर्छ ।

हाम्रो आन्दोलनका कतिपय जोडीहरु विना राजीखुशी र खासै भेटघाटबिनै बिहे गर्छन् । विवाहको लगत्तै शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य हुन्छन् । त्यस्तो सम्बन्ध कति महिलाहरुको चाहना विपरीत पनि भइराखेको हुन्छ । के त्यस्ता पुरुषहरुलाई अनुशासनको कारवाही गर्ने नीति पार्टीले बनाउन सक्छ ?

‘लिभिङ टुगेदर’बारे किन बहस नगर्ने ?

अहिले हाम्रो आन्दोलनमा प्रेमको उत्कर्ष रुप विवाह हो भन्ने सोचाइरहेको छ, तर परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति नामक पुस्तकमा एंगेल्सले बिवाहलाई प्रेमको उत्कर्ष रुप भनेका छैनन् । उनले पितृसतात्मक व्यवस्था स्थापना गर्न र महिलाहरुलाई पुरुषप्रति एकनिष्ट रहन विवाहको संस्था जन्माइएको उल्लेख गरेका छन् । त्यसैले नैतिक सम्बन्ध र अनैतिक सम्बन्धको परिभाषा अब क्रान्तिकारी आन्दोलनले दिनुपर्छ । २१औं शताब्दीमा समाजमा विभिन्नखालको संस्कार र संस्कृति भित्रिएको छ । लिभिङ टुगेदर, सरोगेट मदर र कुमारी आमा भन्नेजस्ता विषयमा हामीले बहसको सुरुवात गर्ने कि नगर्ने ?

वास्तवमा संस्कृति र सांस्कृतिक रुपान्तरण के हो ? यसमाथि व्यापक छलफल हुन जरुरी छ । यो सानो लेख मार्फत सबै विषय उजागर गर्न सकिन्न । तर, छोटो भावमा भन्दा संस्कृति मानव जातिको श्रम र चेतनाद्वारा सृजित समाज विकासको निरन्तर प्रक्रिया हो । समाज रुपान्तरणसँगै संस्कृतिका रुप र सार परिवर्तन भैरहन्छन् । कविला युगको संस्कृति आज हामी समक्ष छैन । दास युग, सामन्तवादी समाज र पुँजीवादी समाज एवम् समाजवादी समाज यी सबैले आफ्नो युगको स्वार्थ अनुकूल नै संस्कृतिको निर्माण गर्छन् । अब सोचौं हामी कुन युगको प्रतिनिधित्व गर्ने संस्कृति निर्माण गर्न चाहान्छौं र गरिरहेका छौं ? यदि पुरानो पितृसतात्मक संस्कृति मास्नु छ र नयाँ निर्माण गर्नु छ भने हामीलाई नयाँ संस्कृति र रुपान्तरणको आवश्यकता छ ।

“थाहा” दर्शनका दार्शनिक रुपचन्द्र विष्टले महिलाहरुलाई सम्बोधन गर्दा समाजिक रुपान्तरणकारी नारीहरु भन्ने गर्दथे । किनकि रुपान्तरण महिलाबाटै हुन्छ र हुनुपर्छ किनकि समाजिक उत्पीडन महिलामाथि नै छ । त्यसैले उत्पीडनको अन्त्यको चाहना र जिम्मेवारी अन्ततः महिलामै हुन्छ । १० वर्षे जनयुद्धकालमाप्रचण्डले प्रतिक्रान्ति रोक्ने शक्ति महिलाहरु नै हुन भन्नुहुन्थ्यो कारण क्रान्ति र रुपान्तरण महिलाहरुको मुख्य आवश्यकता हो ।

(लेखिका पूर्वअन्तरिम विधायक तथा एमाओवादी नेतृ हुन् )
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf